Notice
साकेला गाउँपालिकाकाे संक्षिप्त परिचय
साकेला गाउँपालिका प्रदेश नं १ अन्तर्गत खाेटाङ जिल्लामा पर्दछ । साकेला गाउँपालिका खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल बाट करिव २८ किलाेमिटर पूर्व तर्फ करिव ६२०-२९९० मिटर उचाइमा ७९.९९ वर्ग किलाेमिटरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ५ ओटा वडाहरु (वाजे च्यानडाँडा - १, रतन्छा-२, खिदिमा-३, मात्तिम-४ र मात्तिम-५) रहेकाे छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे मानेभन्ज्याङ भन्ने ठाउमा रहेकाे छ । यस गाउँपालिकाकाे पुर्व तर्फ भाेजपुर जिल्ला पश्चिम र उत्तर तर्फ दिक्तेल रुपाकाेट मझुवागढि र दक्षिण तर्फ दिप्रुङ चुइचुमा पर्दछ । ऐतिहासिक महत्व सहितको किरातराई सँस्कृति साकेला नाँचको महिमा र साँस्कृतिक पहिचानलाई कायम गर्दै यस गाउँपालिकाको नाम साकेला गाउँपालिका राखिएको हो । प्राचिन नेपालको पूर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँत एवं हालको कोशी प्रदेशका सुनुवार र राई जातिका विभिन्न चाड पर्व मध्ये साकेला नाँच अत्यन्त प्रचलित सांस्कृतिक पहिचान बोकेको पर्व हो । यो नाँच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाँच हो । यो समुहमा बाल, युवा, वृद्ध सबै सयौं ब्यक्तीहरु एकै साथ ताल मिलाएर नाच्दछ्न् र एक अर्कामा आदर, प्रेम, सद्भाव र आशिर्वाद साटासाट गर्दै असल समयकालागि प्रार्थना गर्दछन् ।
यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रकाे दृष्टिकाेणले हेर्ने हाे भने गाँउपालिकाबाट पुर्व दिशातर्फ पर्ने वडा नम्वर १ र ३ मा अवस्थित ट्यामुके डाँडा र वडा नम्वर ३ मा अवस्थित सेल्मे डाँडाले अत्यन्तै सम्भावना वाेकेकाे पाइन्छ । त्यतिमात्र हाेइन गाँउपालिकाबाट उत्तर तर्फ पर्ने वडा नम्वर १ मा अवस्थित चखेवा भन्ज्याङ र पूर्व तर्फ पर्ने वडा नम्वर ३ मा अवस्थित तावा भन्ज्याङ पनि सुन्दरताले भरिपुर्ण रहेकाे छ । गाउँपालिकाको जम्मा ७९.९९ बर्ग कि.मि. मध्ये सवै भन्दा बढि ३९.७१ बर्ग कि. मि. (४९.६ प्रतिशत) खेती गरिएको क्षेत्र रहेको छ भने वन क्षेत्रले ३४.२६ वर्ग कि.मि. (४२.८३%) रहेको छ । त्यसरी नै झाडिबुट्यान ४.६७ प्रतिशत र चरण क्षेत्र १.९९ प्रतिशत रहेको देखिन्छ । वन, झाडिबुट्यान र चरण क्षेत्रलाई एक ठाउँमा हेर्ने हो भने ४९.५ प्रतिशत देखिन्छ । तुलनात्मक रुपमा यस गाउँपालिकामा कृषिभूमी बढि देखिएकाले यहाँ नयाँ प्रविधि र थोरै क्षेत्रमा धेरै उत्पादन गर्न सकिने उपायहरु अपनाउनु पर्ने आवश्यक्ता देखिन्छ । यसरी नै नदी, खोलाले बगरको रुपमा ०.८६ प्रतिशत भूमि रहेको छ। समथर क्षेत्र कम भएतापनि बसोबास तथा कृषिको लागि उपयुक्त धरातल रहेको छ । पहाडि क्षेत्रमा रहेको यस गाउँपालिकाको भौगोलिक बनौट विविधतायुक्त छ । यहा पाखा, पखेरा, जंगल, नदि, खोल्सा, खोल्सी, खोंच र बेशीं आदि विविध धरातलीय स्वरूप पाइन्छ । यस गाउँपालिकामा शीतोष्ण हावापानीको प्रधानता छ ।
साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा क्षेत्रको मध्यपहाडी लोकमार्ग, साप्सु पानधारे सडक र अन्य सडकहरूको निर्माणले यस गाउँपालिकालाई यातायातका दृष्टिले क्रमशः सुगम बनाउँदै लगेको छ ।
यहाँ घरायसी उपभोगको लागि उचाई अनुसार प्राय सबैखाले उत्पादन गर्ने गरिएकोछ । अन्नवाली अन्तर्गत मकै, कोदो, धान उल्लेख्य उत्पादन गरीन्छ । तरकारी बालीमा सबै भन्दा धेरै आलु, टमाटर, ईस्कुस आदि उब्जनी हुने गरेको छ । स्थानीय वासिन्दाका अनुसार वडा नं २को गैरी, पिनलखा, वुतेपा क्षेत्रमा नासपाति र सुन्तलाको पनि अभ्यास हुने गरेको बताएका छन् । साथै यो वडामा माछापालन पेशा तिब्र रुपमा बृद्दि भैरहेको छ ।
सबै वडा गरेर १८ वटा भन्दा ज्यादा वन समितिहरु रहेकाछन् । वनमा साल (साप्सु खोला आसपास), कटुस, गुराश, लोक्ता, अल्लो, मालिंगो, प्रजातीका वोट विरुवाहरु उपलब्ध रहेका छन् । टेम्के आसपासको वन क्षेत्रमा पदमचाल, पाखनवेद, बुढि ओखती, हार्डचुर, चिराईतो, हाडजोडा, भुसभुसे, मछिनो आदि वहुमुल्य जडिबुटिहरु उपलब्ध छन् ।
यस गाउँपालिकामा विशेष गरेर राई जातिहरुकाे बाहुल्यता रहेता पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, भुजेल साथै केहि मात्रामा मगर जातिकाे पनि बसाेवास रहेकाे छ । यस गाउँपालिकाकाे जम्मा जनसङ्ख्या ९६२३ रहेकाे छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेकाे छ भने केहि मात्रामा सरकारि नाेकरि, व्यापार व्यवसाय, वैदेशिक राेजगार, सिकर्मि तथा डकर्मि पेशामा निर्भर रहेकाे छ ।